Section 93
यातायात सेवाको नाम पञ्जीकृत गर्नु पर्ने
(१) यातायात सेवाको नाम विभागमा पञ्जीकृत नगरी सवारी धनी वा व्यवस्थापकले कुनै पनि सार्वजनिक सवारी यातायात सेवा सञ्चालन गर्ने कार्यमा प्रयोग गर्नु हुँदैन ।
(२) यातायात सेवाको नाम विभागमा पञ्जीकृत गर्न चाहने सवारी धनी वा व्यवस्थापकले त्यस्तो सेवा पञ्जीकरणको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी विभाग समक्ष दरखास्त दिनु पर्छ ।
(३) उपदफा (२) बमोजिम परेको दरखास्त उपर विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो यातायात सेवाको नाम पञ्जीकृत गर्न उपयुक्त देखेमा सो नामबाट यातायात सेवा सञ्चालन गर्न दरखास्तवालालाई अनुसूची –८ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ । त्यसरी यातायात सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सवारी धनी वा व्यवस्थापकले त्यस्तो यातायात सेवा प्रदान गर्ने कार्य बन्द गर्न चाहेमा विभागको पूर्व स्वीकृति लिनु पर्छ ।
(४) उपदफा (३) बमोजिम दिइएको अनुमतिपत्र सो दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।
(५) यस दफा बमोजिम पञ्जीकृत यातायात सेवामा काम गर्ने कर्मचारीहरूको नियुक्ति, सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।